Fursad Times मंगलबार, कार्तिक ०८, २०७९

भक्तपुर । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ। आज दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु भएर बेलुका ५ बजेर २४ मिनेटमा ग्रहण मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए। कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ। पर्व विशेष भएको कारणले पनि यो ग्रहणको धेरै दोष हुँदैन,’ उनले भने।

आज दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट सम्म लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिए । सूर्यास्तसँगै ग्रमण सकिए पनि दोष भने साँझ ७ः३० बजेसम्म रहने बताए। नेपालमा ४ बजेर ५२ मिनेटमा सकिने ग्रहण अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ।

सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए। यस्तो अवस्थामा १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्नेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका साधना गरेमा शुभ हुने धार्मिक विश्वास छ।