Fursad Times मंगलबार, आश्विन १८, २०७९

भक्तपुर । भोलि दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई भोलि बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरूले भोलि दिनभर जुनसुकै बेला टीका लगाउन सक्नेछन् । टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर–पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् । यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ ।