Fursad Times मंगलबार, आश्विन १८, २०७९

दशैंको मौका छोपेर असोज १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बाबरी’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाएको भएता पनि मल्टीप्लेक्सहरुले फिल्मको शो दिन प्रतिदिन घटाइहेका छन् । दशैंको टीकापछि हलमा दर्शक बढ्ने अपेक्षा लिएको निर्माण टिम मल्टीप्लेक्सहरुले “बाबरी” को शो घटाउन थालेपछि आक्रोशित बनेको छ । सोमवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्देशक सुरेन्द्र पौडेलले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामाको समेत माग गरे । उनले भने, ‘चलचित्र विकास बोर्ड केका लागि ? बोर्डबाट केही काम हुँदैन भने खारेज गर्दा हुन्छ । होइन भने बोर्डले सम्पूर्ण फिल्मकर्मीलाई बोलाएर आन्दोलनमा उत्रिनुपर्छ । बोर्डले केही गर्न नसक्ने हो भने भुवन दाईले पनि बोर्ड छाड्दा हुन्छ । भुवन दाई नेपाली फिल्मको विकासका लागि जानुभएको होइन ? खोइ त गर्नुभएको ?  कि राज्यले हामीलाई फिल्म नै नबना भन्नुपर्‍यो । नभए नेपाली फिल्मको नीति नियम बनाइदिनुपर्‍यो । नेपाली फिल्म रिलिज गरिसकेपछि कति समयसम्म शो पाउने, कति समयसम्म शो हटाउन नपाउने नीति बनाउनु पर्छ ।’

दशैंको टीकादेखि मात्र नेपाली फिल्म हेर्न हलमा दर्शक जाने भएकाले ‘बाबरी’ले दशैंको टीकासम्म शो पाउँछ कि पाउँदैन भनेर आफूहरु डराएर बस्नु परेको समेत निर्देशक पौडेलको भनेका छन  । नेपाली फिल्म लगाउने बेला सधैं तनाव र दुःख हुने गरेको बताउँदै उनले पिताको सम्पत्तिमा सन्तानको हक हुन्छ भने झैं नेपालमा नेपाली फिल्मले नै हक-अधिकार पाउनुपर्ने तर्क गरे ।

‘अगिले ‘बाबरी’ राम्रोसँग चलिरहेको भएता पनि दर्शकहरुले टाइममा शो छैन भनेर गुनासो गरेको समेत निर्देश पौडेलले बताए । यस विषयमा बोर्डसँग कुरा गर्दा भुवन दाईले मेरो हातमा केही छैन भन्नुहुन्छ । अनि बोर्डसँग नै नेपाली फिल्मलाई बचाउने अधिकार छैन भने बोर्डको के काम ? बोर्डले सक्दैन भने भुवन दाईले राजीनामा दिए भइगयो नी । नेपाली फिल्मको प्रवद्र्धनका लागि स्थापना भएको बोर्डले नेपाली फिल्मको पक्षमा काम गर्न सक्दैन भने खारेज गर्नुपर्छ,’ उनले भने । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि विदेशी फिल्मको प्रवद्र्धन गर्ने हो भने बोर्ड खारेज गर्नुपर्ने बताए । उनले नेपाली फिल्मको हितको लागि आफूहरु बोर्डविरुद्ध चाँडै आन्दोलनमा जाने समेत चेतावनी दिए । उनले भने- ‘विदेशी फिल्म महिनाको एक पटक मात्रै चलाउने कोटा ल्याउनुपर्छ । नेपालमा विदेशी फिल्मलाई कोटा सिस्टममा लैजानुपर्छ । यसको लागि हामी दशैं-तिहार सकिने बित्तिकै आन्दोलन गर्छौं । नेपाली भाषालाई समाप्त पार्ने षड्यन्त्र हामीलाई मान्य छैन ।’

फिल्मका मुख्य अभिनेता धिरज मगरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाउँदा समेत शो नबढेकोमा दुखेसो पोखे । उनले भने- ‘फिल्मले राम्रो रेस्पोन्स पाएको छ । शो हाउसफूल भएको छ । पोखरा, दमक, धरान सबै शहरहरुमा दर्शक उपस्थिति एकदमै राम्रो छ । फिल्मलाई दर्शकले दिएको माया जस्तै शोमा पनि पाउनुपर्‍यो ।’ नेपाली फिल्महरुलाई पहिलो प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । अभिनेत्री अदिती बुढाथोकीले फिल्म राम्रो बनेको र दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएकाले शो बढाउनुपर्ने बताइन् । त्यस्तै, निर्मात्री पुष्पलता बुढाथोकीले नेपाली फिल्ममाथि भएको अन्यायको बारेमा सरकारले सहयोग गर्नुपर्ने धारणा राखिन् । आफूहरुले फिल्म बनाउँदा यस्तो समस्या आउँछ होला भन्नेबारे अनभिज्ञ रहेको र अहिले फिल्मको शो घटाईएको सूचना आएको भन्दै कसको कारण यस्तो भएको हो भनेर थाहा नभएको बताइन् ।