Fursad Times बुधबार, आश्विन ०५, २०७९

भक्तपुर – भारतीय सिनेमाका हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा भर्ना भएका श्रीवास्तवको लामो समय देखि उपचार भै रहेको थियो । उनको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने एक दिग्गज कलाकार थिए । सन् २००५ को कमेडी सो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी ‘बिग बोस’को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए । उनले ‘मैने प्यार किया’, ‘बाजिगर’, ‘आम्दानी अठन्नी खर्च रुपैयाँ’ र ‘बम्बई टू गोवा’को रिमेकमा समेत अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म डेभलेभमेन्ट काउन्सिलका अध्यक्षसमेत भएका थिए ।