Fursad Times आइतबार, भाद्र ०५, २०७९

भक्तपुर – नेपाली कांग्रेसका सांसद तथा नेता प्रदीप गिरीको ७५ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ स् ३६ मा निधन भएको छ । क्यान्सर र निमोनियाबाट ग्रसित नेता गिरीको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो। उनको स्वास्थ्य अवस्था झन् झन् जटिल बन्दै गएपछि परिवारले शनिबार अपराह्न्न उनको शरीरका धेरै अंगले काम गर्न छाडेको जनाएको थियो । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका बेला गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको उनको परिवारले एक विज्ञप्तिमार्फत जानकारी दिएको थियो । शनिबार भारती सिलवाल गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीलाई निमोनियाले एकदमै च्यापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताएकी थिइन् । अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय(समयमा स्वास्थ्य चेकअप गरिरहेको र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको भएता पनि गिरीलाई बचाउन सकिएन ।