Fursad Times आइतबार, साउन २९, २०७९

भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ आनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश भएको थियो । राष्ट्रपति कार्यालयमा सो विधेयक १४ दिन अगाडि प्रमाणीकरणका लागि पुगेको थियो ।  राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्ने वा फिर्ता गर्ने निर्णय लिइसक्नुपर्ने  संवैधानिक व्यवस्था छ ।