Fursad Times शनिबार, साउन २८, २०७९

भक्तपुर – नायक प्रदीप खड्काको फिल्म ‘प्रेमगीत ३’ भारतमा हिन्दी भाषामा रिलिज हुँदैछ । त्यसैले, हाल प्रदीप यो फिल्मको प्रचारमा भारतमा बढी रहने गरेका छन् । आफ्नो फिल्मको प्रचार प्रसारमा रहेका प्रदिपलाई भारतीय अनलाइन बलिउड हंगामाले नेपालको ठूलो स्टार भनिरहँदा यसको बाछिटा नेपाल सम्म आइपुग्यो । बलिउड हंगामाले प्रदिपलाई नेपालकै ठूलो स्टार भन्दा एक दर्शकले प्रदीपको सामाजिक संजालमा ‘दयाहाङ राई सबैभन्दा ठूलो स्टार हुन्’ भनेर लेखिरहँदा प्रदीपले ‘यता यस्ता कमेन्ट गरेको उता थाहा हुन्न’ भन्ने जवाफ दिए । प्रदिपको यो जवाफले पनि उनी दयालाई नेपालकै ठूलो सुपरस्टार मान्न तयार छैनन् भन्ने दर्शाउँछ । यस्तै केही दिन अगाडि मात्र उनले एक अनलाइनलाई दिएको अन्तरवार्तामा भनेका छन्–‘भारतीय मिडियाहरुले पैसा नलिइकन मलाई ठूलो स्टार भनेका हुन् । यसको लागि उनीहरुले रिसर्च पनि राम्रै गरेका होलान् । त्यसैले, म उनीहरुको कुरालाई सहर्ष स्विकार गर्छु ।’ उनको यो जवाफले पनि प्रष्ट के हुन्छ भने, उनी आफूलाई नेपालकै ठूलो स्टार मान्छन् । एउटा कुरा पक्का के हो भने, प्रदीप खड्का नेपाली फिल्ममा सर्वाधिक माग भएका कलाकार भने हुन् तर यो पनि सत्य हो कि ‘प्रेमगीत’को ब्रान्ड भन्दा बाहेक उनले सफल फिल्म दिन नसकेको कुरा पनि पक्का हो । भारतीय मिडियाले ‘नेपालकै ठूलो स्टार’ भनेर लेखिरहँदा प्रदीपले यसलाई स्विकार गरेका छन् तर अब, नेपाली दर्शकले उनलाई कस्तो स्टारको रुपमा मान्छन्, त्यो नै अन्तिम निर्णय हो ।

https://youtu.be/FMPrSL7hbrQ