Fursad Times आइतबार, आषाढ १९, २०७९

भक्तपुर – सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार गरेको छैन । ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरे पनि हालसम्म पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । परराष्ट्र मन्त्रालयबाट आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई गर्ने पत्राचारका अध्ययन भइरहेको जानकारी दिइन् । सरकारको निर्णय मन्त्रालयले प्राप्त भएको बताएकी उनले सरकारको निर्णयलाई कूटनीतिक माध्यमबाट कार्यान्वयन गर्दै पत्राचार गर्ने जानकारी दिइन् । मन्त्री परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको बताइन् । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिरहेको जानकारी दिएकी उनले भ्रमण मितिको टुंगो लाग्न भने बाँकी रहेको बताइन् ।