Fursad Times सोमबार, आषाढ ०६, २०७९

भक्तपुर – बहराइनलाई हराउँदै नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।  मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडिनै अन्तिम चारमा प्रवेश गरेको हो। बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर ३.४ ओभरमा पुरा गर्‍यो ।
नेपालका लागि सीता राना मगरले ४ तथा कविता जोशीले ३ रन बनाए। नेपालले अतिरिक्तबाट ८ रन जोडेको थियो । यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो। उसका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन्।

नेपालका लागि कविता कुँवर र सबनाम राईले २-२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन् । वर्षाको कारण समयमै सुरू हुन नसक्दा खेल खेल ७-७ ओभरमा छोट्याएको थियो।

समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो। यस्तै दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ।