Fursad Times बुधबार, आषाढ ०१, २०७९

भक्तपुर – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध खेल्दैछ । घरेलु टोली अमेरिका र नेपालबिचको खेल टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

नेपाल अमेरिकाविरुद्ध मैदान उत्रँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ भने अमेरिका पनि दोस्रो जितको खोजीमा हुनेछ ।  यसअघि ओमानसँग १३ रनले पराज बेहोरेको नेपालले अमेरिकासँगको पहिलो खेल टाइ खेल्दा आज बिहान सम्पन्न खेलमा भने नेपालले ओमानलाई सात विकेटले हरायो ।

यसअघि अमेरिकाले ओमानलाई ११४ रनले पराजित गरेको थियो ।  लिग–२ मा १५ खेलमा १५ अंक जोडेको नेपाल पाँचौं र अमेरिका २३ खेलमा २१ अंकका साथ चौथो स्थानमा छ । अमेरिकाविरुद्धको खेलमा नेपालले अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिने सम्भावना छ । आज बिहान सम्पन्न खेलमा ओमानलाई ७ विकेटले हराएकाले नेपालले अमेरिकाविरुद्ध प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना कम रहेको हो ।

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सागर ढकाल ।