Fursad Times शनिबार, बैशाख ०३, २०७९

भक्तपुर । भारतको हिन्दू राष्ट्रवादी छाता संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख मोहन भागवतले भारत १५ वर्षभित्र अखण्ड बन्ने घोषणा गरेसंगै यसको भारतमै बिरोध हुन थालेको छ ।

उत्तराखण्डको हरिद्वारमा एक मन्दिर उद्‌घाटन गर्न पुगेका भागवतले सो कार्यक्रममा अबको १५ वर्षभित्र भारत फेरि अखण्ड भारत बन्ने बताएका थिए जसको अहिले भारतमै बिरोध भै रहेको छ।

भारतिय मिडिया नवभारत टाइम्सकाअनुसार सन्त र ज्योतिषीहरुले अबको २० देखि २५ वर्षमा भारत फेरि अखण्ड भारत हुने भविष्यवाणी गरेको भन्दै भागवतले यदि सबै मिलेर यो कार्यलाई अगाडि बढाएको खण्डमा अबको १० देखि १५ वर्षभित्रै अखण्ड भारत बन्ने बताएका थिए। भागवतले यसमा बाधक बन्नेहरु समाप्त हुने उनको चेतावनी थियो।

आरएसएस भारतको सत्तारुढ भाजपासँग जोडिएको संस्था हो । बीबीसी हिन्दीकाअनुसार विपक्षी कंग्रेस आईका प्रवक्ता सुप्रिया श्रीनेतले भारतको सीमाभित्र घुसेको चीनलाई फर्काउन नसक्ने सरकारले भागवतको अखण्ड भारतको जवाफ दिनुपर्ने बताएकी छिन। उनले भागवतलाई अखण्ड भारत, हिन्दु राष्ट्रको कुरा गर्ने तर सीमामा घुसपैठ गरिरहेको चीनलाई किन फिर्ता नपठाएको भनेर प्रश्न समेत गरेकी छिन।

अखण्ड भारतको अवधारणा के हो ?

अखण्ड भारतलाई अखण्ड हिन्दुस्तान पनि सम्बोधन गरिन्छ।अखण्ड भारत एक एकीकृत भारतीय उपमहाद्वीपको अवधारणा हो। जसले भारत, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, बंग्लादेश, तिब्बत, श्रीलंका, माल्दिभ्स र म्यानमार एकै राष्ट्र हो भन्ने मान्यता राख्छ। बेला बेलामा भारतीय नेताहरुबाट समेत अखण्ड भारत कुरा उठने गरेको छ। खासगरी भाजपामा आरएसएसको जबरजस्त प्रभाव भएकाले भाजपाका नेताहरुले यसको वकालत गर्छन्। भाजपाका नेताले समर्थन गरे पनि भारतीय राष्ट्रिय कंग्रेस र कम्युनिस्ट पार्टीहरुले विरोध गर्छन्। उपनिवेशकालमा बेलायतको फुटाउ र राज गर नीतिविरुद्धको अभियानका हकमा अखण्ड भारतको अवधारणालाई गान्धीले पनि समर्थन गरेका थिए।

आरएसएसको पाठ्य पुस्तकमा अखण्ड भारतको अवधारणामा नेपाल, भुटान पाकिस्तान, बंगलादेश, र म्यानमार समावेश छ। पाकिस्तान र चीनसँग सीमा जोडिएको काश्मिरलाई भारतले पहिले देखिनै आफ्नो दावी गर्दै र्आको छ । यस अवधारणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका राष्ट्रिय महासचिव राम माधवको समर्थन रहेको बताइन्छ। २०२० मा आरएसएसका प्रचारकले ‘अखण्ड भारत’ अवधारणामा आधारित क्यालेण्डर जारी गरेका थिए।

अन्नपूर्णपोष्टबाट

 

https://youtu.be/7KRCzY6a1do