Fursad Times शनिबार, भाद्र १२, २०७८

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । आज ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । पहेलिएका पात झर्दा रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।”

अध्यक्ष ओलीले पार्टीमा विभाजन गरी कोही जाँदैमा आफुलाई र पार्टीलाई फरक नपर्ने बताए । उनले माधव कुमार नेपाललाई प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आरोप लगाए । “पार्टीका केही मानिसलाई मैले धेरै सम्झाउन र बुझाउन कोसिस गरेको थिएँ,” तर “एमालेलाई ध्वस्त पार्छु भनेपछि त्यस्ता मानिसलाई सम्झाएर र बुझाएर सकिँदैन ।” उनले भने

आजको कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफूविरुद्ध भएको षडयन्त्रको एकमुष्ट जवाफ दिने समेत बताए । कार्यक्रमा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले समेत पार्टी विभाजन गरी कोही गए पनि फरक नपर्ने बताए ।