Fursad Times शुक्रबार, भाद्र ०४, २०७८

https://youtu.be/-ACjNL2L_gc

भक्तपुर – पछिल्लो समय नेपालको सेयर बजारमा नयाँ लगानीकर्ताहरुको थपिने क्रम तिब्र गतिमा बढि रहेको छ । बजारमा नयाँ लगानीकर्ताहरुको प्रबेश,ब्रोकर कमिसन घट्नु, बैंकको मुद्दती निक्षेपको व्याजदर घट्नु, कोरोनाका कारण लगानीका अन्य क्षेत्र अझै चलायमान हुन नसक्नु लगायतका विभिन्न कारणहरुले गर्दा अहिले सेयर बजारले नयाँ उचाइ हासिल गर्दै गएको छ ।

बजारमा आएका नयाँ लगानीकर्ताहरुमा सेयर बजारमा लगानी गर्दा कस्ता कम्पनीमा लगानी गर्ने ? कुन समयमा लगानी गर्ने ? लगानी गर्दा कम्पनीको कुनकुन पक्षमा ध्यान दिने जस्ता आधारभूत पक्षहरुबारेमा जानकारी नहुदा धेरै लगानीकर्ताहरुले नोक्सानी व्यहोरिरहेका छन् । सामाजिक सञ्जालमा फैलिने हल्लाका आधारमा सेयरका बारेमा आधारभुत ज्ञानसमेत हासिल नगरी लगानी गर्दा त्यसले लगानीकर्ताहरुलाई ठूलो नोक्सानी पुर्याउन सक्दछ ।

सेयर बजारमा आएका नयाँ लगानीकर्ताहरुले निम्न कुराहरुलाई ख्याल गरेर लगानी गर्न सकेमा राम्रो प्रतिफल कमाउन सकिन्छः

१.कम्पनीको व्यबस्थापन : यदि तपाईं कुनै पनि कम्पनीमा आफ्नो पैसा लगानी गर्दै हुनुहुन्छ भने लगानी गर्नुपूर्व त्यो कम्पनीको व्यबस्थापन पक्ष कस्तो छ भन्ने कुराको ज्ञान राख्नु पर्दछ । संस्थाको सफलता र असफताको र्निधारण त्यस कम्पनीमा कस्तो व्यबस्थापन छ भन्ने कुराले गर्दछ ।

२इपिएसः इपिएस भनेको कम्पनीको प्रतिसेयर आम्दानी हो । कम्पनीको प्रतिसेयर आम्दानीको अवस्था कस्तो छ भन्ने कुराको जानकारी लगानीकर्तालाइ हुनु पर्दछ । लगानी गर्दा कम्पनीको पछिल्ला बर्षहरुको प्रतिसेयर आम्दानीको अनुपात हेरी पहिलेका बर्षहरुभन्दा आम्दानी बढेको र बढ्न सक्ने कम्पनी छनौट गर्नु पर्दछ । सकेसम्म प्रतिसेयर आम्दानी बढि भएका कम्पनीहरुमा लगानी गरेमा त्यस्तो लगानीले बढि मुनाफा दिन सक्दछ ।

३. बैकिङ क्षेत्रमा लगानी गर्दा लगानीकर्ताहरुले रिटर्न अन इक्वीटी र उत्पादन क्षेत्रमा लगानी गर्दा रिटर्न अन इक्वीटी र रिटर्न अन क्यापिटल इम्प्लाेइडलाई ध्यान राख्नु पर्दछ । रिटर्न अन इक्वीटी भनेको कम्पनीले लगानीकर्ताहरुको लगानीबाट कति प्रतिफल हासिल गर्यो भन्ने हो भने रिटर्न अन क्यापिटल इम्प्लाेइड भनेको कम्पनीले ऋणबापत प्राप्त लगानीले कति प्रतिफल हासिल गर्यो भन्ने हुन्छ । जुन कम्पनीले बढी प्रतिफल हासिल गरेको छ, त्यस्तो कम्पनीमा गरिएको लगानी बढी फलदायी हुन सक्छ ।

४. क्षेत्रको र्निधारणः लगानी गर्दा कुन अवस्थामा कुन क्षेत्रमा लगानी गर्ने भन्ने कुराको ज्ञान पनि लगानीकर्ताहरुमा हुनु पर्दछ । जस्तो, कुनै समयमा देशको पर्यटन क्षेत्रमा राम्रो भइरहेको छ भने त्यस्तो अबस्थामा पर्यटनसँग सम्बन्धित कम्पनीहरुमा गरिएको लगानी बढि सुरक्षित र लाभदायी हुन सक्छ । भने कुनै बैंकिङ क्षेत्रमा लगानी गर्दा बैंकहरुको निक्षेप संकलन र ऋण लगानीको अवस्था अध्ययन गर्नु पर्दछ । भने बिमा कम्पनीहरुको जारी बिमा लेख संख्या र खुद बिमा शुल्क बढेको र दाबि भुत्तानी घटेको अवस्था बिमा कम्पनीमा लगानीका लागि उपयुक्त हुन जान्छ ।

५. पिइ रेसियो : कुनै पनी कम्पनीको पिई रेसियो कम्पनीको हालको प्रतिसेयर मूल्यलाई कम्पनीको प्रतिसेयर आम्दानीले भाग गरेर निकाल्ने गरिन्छ । कम्पनीको छनौट गर्दा सकेसम्म कम पिइ रेसियो रहेका कम्पनीको छनौट गर्नु पर्दछ । नयाँ लगानीकर्ताहरुले १५ भन्दा कम पिइ रेसियो भएका कम्पनीहरुमा लगानी गर्न सकेमा त्यो लगानी बढि सुरक्षित हुन सक्दछ ।

यसका साथै सेयर बजारमा लगानीगर्दा बजारको अवस्थाको बारेमा पनि लगानीकर्ताहरुले अध्ययन गर्न जरुरी हुन्छ । बजारमा देखिएको तरलता क्षणिक हो वा दिगो हो भन्ने कुराको ज्ञान लगानीकर्तामा हुनु पर्दछ । अहिलेको अवस्थामा सेयर बजारमा लगानी बढि भित्रिनुको मुख्य कारणहरु भनेका बैंकको मुद्दती निक्षेपमा न्यून व्याजदर हुनु, लगानीका अन्य क्षेत्रमा लगानीको वातावरण नहुनु ,कम व्याजदरमा बैंकहरुले ऋण लगानी गर्नु आदी हुन् । त्यसैले तपाइहरु पनि सेयर बजारमा प्रवेस गर्दै हुनुहुन्छ भमे यी सब कुराहरुको बारेमा जानेर प्रेवस गर्नु भयो या लगानी गर्नु भयो भने तपाइको लगानी सुरक्षित हुने छ ।