Fursad Times मंगलबार, जेठ १८, २०७८

भक्तपुर – नेपालमा पनि कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । महामारीमा केही कमि आएता पनि अहिलेको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा तीन जिल्लाका अधिकारीहरू लागेका छन् ।

काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठक बसेर वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् । १ महिनाको अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ ।

निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाही अन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ ।

पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण तिब्र बढे पछि संक्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी समेत गरिएको छ । पहिलो तीन हप्ताको निषेधाज्ञामा सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्पष्ट पारे ।

सोही रणनीतिअनुसार खाद्य, थोक तथा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पूर्ण रूपमा बन्द गरिएको उनको दाबी छ । अवस्था हेरेर निषेधाज्ञा थपिन सक्ने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

https://youtu.be/cvEc0zY7SsA