Fursad Times बिहिबार, जेठ ०६, २०७८

भक्तपुर – लमजुङमा गएको २४ घण्टा भित्र सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।लमजुङमा जिल्लाको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा ८६ पटक भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २४ घण्टाको अबधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ ।

चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ मिनेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा समेत ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ। यसरी पटकपटक भूकम्प जाँदा जिल्लाबासी त्रसित भइरहेका छन्। बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको जाँदा राम्रोसँग सुत्न मात्र हैन घरभित्र बस्न पनि समस्या भएको छ ।

कति डरका कारण स्थानीयवासी रातभरि घरबाहिर नै सुते भने कति नसुति भित्र बाहिर गरिरहे।
रातिको समयमा वर्षा भइरहेकाले घर बाहिर बस्न समस्या भएको स्थानीयवासीको भनाइ छ।

अहिले नेपालका ७४ जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ। सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भीडभाड नगर्न बताइएको बेलामा यसरी दिन रात भूकम्प जाँदा जिल्लाबासी घरबाहिर भीडभाड गरेर बस्न बाध्य भए।
भुकम्पमा परि जिल्लामा छ जना घाइते भए भने २०० घरमा क्षति पुगेको छ । भूकम्प पटकपटक जानाले अझै घर तथा मानवीय क्षति हुन्छ कि भन्ने डरमा यहाँका स्थानीयवासी रहेका बेलामा भूकम्प मापन तथा अनुसन्धान केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिन भन्न सक्ने अवस्था नभएको जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सबैजना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने बताए। उनले यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र कसैलाई नआत्तिन समेत आग्रह गरेका छन्

 

https://youtu.be/W1kiZdB8_QQ