Fursad Times शुक्रबार, बैशाख ३१, २०७८

भक्तपुर – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ आज शुक्रबार अपरान्ह हुनेछ ।

ओलीले वैशाख २७ संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वान गरेकी थिइन् तर सो समयसीमाभित्र कुनै पनि दलले दाबी नगरे पछि ओलि नै प्रधानमन्त्री बनेका हुन ।

प्रधानमन्त्री ओलिले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।