Fursad Times बिहिबार, बैशाख ३०, २०७८

भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमतका सरकार निर्माणका लागि दिएको समय सकिएको छ।

बहुमतको सरकार गठन गर्ने समय सकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको रुपमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्दै छन्। उनले एक महिनाभित्र संसदमा बहुमत सावित गर्नुपर्ने छ।

राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस-माओवादीले दावी नगरपछि एमालेले पनि दावी नगर्ने भएको हुँदा ओलीलाई पुनः यो मौका मिलेको हो । महन्थ ठाकुर पक्षसँग तटस्थ रहने बाहेक बहुमतको सरकार दावी गर्ने कुनै कुरा नभएकोले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार बन्ने भएको हो ।

माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो ।

विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

यसबीचमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको थियो । काँग्रेस, माओवादीका नेताहरुले महन्थको नाम अगाडि सारेको अवस्थामा चाहिँ बहुमत जुट्न सक्ने सम्भावना पनि थियो । तर, यसका लागि काँग्रेस–माओवादीका नेताहरु तयार भएनन् ।