Fursad Times सोमबार, चैत्र २३, २०७७

भक्तपुर । विश्वभर महामारी फैलाएको कोरोनाको विभिन्न राष्ट्रले कोरोनाविरुद्धको खोप उत्पादन गरि सकेका छन । नेपालमा पनि कोरोनाविरुद्वको खोप लाखौंले लगाई सकेका छन । कोरोनाविरुद्व खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरु गरेको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरु गरेको हो ।

कोरोनाविरुद्वको खोप लगाई सके पछि घटेको घटना खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान शुरु गरिएकोे अनुसन्धान कमिटीका प्रमुख डा. धनराज अर्यालले बताए । डा. अर्यालका अनुसार मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ । हालसम्म १७ लाखले पहिलो र दोस्रो चरणमा खोप लगाइसकेका छन् र यो खोप लगाउनेहरूमा खासै गम्भीर खालको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयका अनुसार सो खोप लगाइ सकेका व्यक्तिमा सामान्य ज्वरो आउने र जिउ दुख्ने गरेको देखिएको छ भने कसैकसैलाई भने चिकित्सकको निगरानीमा राखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भइसकेको छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।