Fursad Times सोमबार, चैत्र १६, २०७७

भक्तपुर । देशभर प्रदूषणको स्तर बढेपछि सरकारले भोलि मंगलबारदेखि ४ दिनसम्म देशैभरीका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । केही दिनयता नेपालको वायुमण्डलको प्रदूषण निकै बढेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले अब कम्तीमा पनि शनिबारसम्म विद्यालय बन्द रहनेछन् । वायु प्रदूषणका कारण विद्यालय बन्द हुन लागे पनि यसलाई कोरोनाभाइरस संक्रमण फैलिन नदिन भिडभाड हुने ठाउँहरुमा नियन्त्रण गर्ने रणनीतिको रुपमा समेत लिइएको छ । केही समय देखि छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमणका घटनाहरुमा वृद्धि हुँदै गएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । त्यसैले बालबालिकाको भिड हुने क्षेत्र विद्यालय केही दिनको लागि बन्द गर्ने निर्णय गरिएको हुनसक्ने पनि अनुमान गरिएको छ ।

भारतमा कोरोणा संक्रमण वृद्धि हुन थालेपछि त्यहाँ रहेका आप्रवासी कामदारहरु नेपाल फर्किने क्रम पनि बढेको छ । सिमा नाकाबाट नेपाल भित्रनेको संख्या बढ्दै गएका कारण सरकारले सीमाबाट नेपाल प्रवेशमा पनि कडाइ गरिसकेको छ । ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट नहुँदासम्म नेपाली सीमाभित्र प्रवेश गर्न रोक लगाइएको छ ।