Fursad Times मंगलबार, चैत्र १०, २०७७

भक्तपुर । पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि नेपालमा यसको प्रभाव पन नदिनका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि श’ङ्कास्पद व्यक्तिको कोरोनाको जाँच गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

“भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ”, महाशाखाका प्रमुख
नरेन्द्रसिंह कार्कीले भन्नुभयो, “केही दिनदेखि मुख्य गरेर कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा यो व्यवस्था गरेकामा आवश्यकताअनुसार झुलाघाट र बैतडीका सीमा नाकामा पनि एन्टिजेनको व्यवस्था गर्ने पहल भएको छ ।”

कोरोना सङ्क्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि हालसम्म प्रदेशमा पिसिआर पद्धतिबाट एक लाख ३७ हजार ६२३ को स्वास्थ्य परीक्षण गरिएकामा १४ हजार ६८ जनामा सङ्क्रमण देखिएको थियो । प्रदेशमा स्वास्थ्य परीक्षण गरिएको सङ्ख्या कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै पाँच प्रतिशत हो । सङ्क्रमितमध्ये १३ हजार ८६५ जना उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ । होमआइसोलेशनमा हाल ९६ जना सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य महाशाखाका प्रमुख कार्की कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहे पनि जोखिम भने नहटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जोखिम नघटिसकेकाले सङ्क्रमित क्षेत्र भारतबाट प्रदेशमा भित्रिनेलाई सीमामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत स्वास्थ्यसम्बन्धी सचेतना दिने कामसमेत भइरहेको छ ।”

लक्षण देखिएका व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन र स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । पुस महिनासम्म प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित ५६ जनाको मृत्यु भएको थियो । त्यसयता प्रदेशमा यो रोगका कारणले हुने मृत्यु दर शून्य छ । होम आइसोलेशन र प्रदेशबाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । कोभिड–१९ को उपचार व्यवस्थापनका लागि सेती प्रदेशिक अस्पताल धनगढीलगायतका क्षेत्रमा स्थापना गरिएको कोरोना अस्पतालका श्ययाहरु खाली छन् ।

भारतमा कोरोना सक्रमित तिब्र गतिमा बढे सङ्गै नेपालमा पनि सावधानी आप्नाइन थालेको छ । सामाजिक सञ्जालमा फेरि लकडाउन हुने हल्ला आइरहे पनि सरकारले यसको बारेमा कुनै ठोस निर्णय भने लिएको छैन तर धेरै भिडभाड, सभा,गोष्ठि, सेमिनार नगर्न भने आग्रह गरेको छ ।